भ्रष्टाचारविरूद्ध अझै ठूला एक्शन लिनुपर्नेछः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरूद्धको अझै ठूला एक्शन लिन बाँकी रहेकाे बताउनुभएकाे छ ।
काठकाण्डाैकाे शंकरापुरमा प्रेस सेन्टर नेपालकाे केन्द्रीय साधारणसभामा सम्बाेधनका क्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरूद्धकाे लडाइँ जनयुद्धको बेलाको भन्दा अझ कठिन रहेकाे बताउनुभएकाे हाे ।
उहाँले अझै ठूला एक्शन लिनुपर्ने भन्दै जनयुद्धका बेला जनमुक्ति सेनाले खेलेकाे भूमिका जस्तै भ्रष्टाचारविरूद्ध जनताकाे समर्थन जुटाउन पत्रकारले भूमिका खेल्नुपर्ने बताउनुभयाे ।
प्रधानमन्त्री प्रचण्डले जनयुद्धको बेलामा मृत्युवरण गरी हामफालेको बताउँदै अहिले भ्रष्टाचारविरूद्ध पनि त्यस्तै अनुभव भएको बताउनुभयाे ।
‘जनयुद्धका बेलामा जुन संकल्पका साथ हाम्फालेको थियो। अहिले विकृति र भ्रष्टाचारविरूद्धको लडाइँमा म त्यही मानसिकताका साथ हामफालेको अनुभव हुँदैछ,’ उनले भने, ‘जसरी जनयुद्ध सुरू गर्दा, लडाइँ सुरू गर्दा, हामीलाई को कति दिन बाँचिने हो, को कतिबेला मारिने हो भन्ने कुरा टुंगो छैन। तर पनि मृत्युवरण गरी हामफालेका थियौं। अहिलेको यो लडाइँ त्यस्तै त्यस्तै छ।’
‘न्याय, सुशासन र समृद्धि नै हाम्रो मुख्य प्राथमिकता हो। यो पटक हाम्रो अगाडि चनौतीपूर्ण अवसर छ। अवसर पनि छ, चुनौती पनि छ। त्यही संकल्पका साथ हामीले काम गर्न सुरू गर्यौं,’ उनले भने, ‘र यहाँ सम्म आउँदा जनतामा नयाँ आन्दोलनको, एउटा नयाँ अभियानको, नयाँ संस्कारको सुरूवात हुन खोजेको अनुभूत हुँदैछ।’
सरकारकाे नेतृत्व लिएदेखि नै पार्टी र सरकारकाे विरूद्धमा माेर्चावन्दी भएकाे र भ्रष्टाचारविरूद्धका फाइल खाेल्न थालेपछि त्याे माेर्चाबन्दी थप बढेकाे भन्दै प्रधानमन्त्रीले दुस्मनले कतिबेला के गर्ने हुन् भनेर चनाखाे हुनुपर्ने र जनतालाइ सु सूचित गर्नुपर्ने बताउनुभयाे ।

