रेडी ट्रेडर्सकाे गाेदाममा राजश्व अनुसन्धानकाे छापा

राजस्व अनुसन्धान विभागले सुन तस्करीमा संलग्न रेडी ट्रेडर्स प्रा.लि.ले पछिल्लो २ महिनाभित्र आयात गरेका सबै ब्रेक शु बरामद गरेकाे छ । ती सबै ब्रेक सु शंकास्पद देखिएकाे विभाग स्राेतले जनाएकाे छ ।

विभागले बुधबार काठमाडौंको सोह्रखुट्टेमा रहेको कम्पनीको गोदाममा छापा मार्दा थप ११ सय ६२ थान ब्रेक शु बरामद भएको हाे । बरामद भएकामध्ये धेरै ब्रेक शु फुक्लेका अवस्थामा भेटिएकाले तस्करले सुन झिकिसकेको शंका गरिएकाे छ ।

बरामद गरिएका ब्रेक शु ल्याब परीक्षणका लागि भन्सार विभाग पठाइएको छ । विस्तृत विवरण परीक्षणपछि मात्र थाह हुनेछ । तर गोदामबाट ब्रेक शुबाट सुन पगाल्ने उपकरण एक थान र सुन तौलिने तुलो समेत भेटिएकाले तस्करले सुन निकालेकाे हुनसक्ने प्रवल संभावन छ ।

६६ वटा प्याकेटमा ११ सय ६२ किलो ब्रेक शु बरामद भएको थियो । गत वर्षकाे चैतमा खुलेकाे कम्पनीले ३ महिनाकाे अवधिमा १ हजार ३१७ किलो ब्रेक शु आयात गरेको देखिएको छ । विभागले यस प्रकरणमा डेढ दर्जन व्यक्तिलाइ पक्राउ गरि अनुसन्धान गरिरहेकाे छ । जसमा एक भारतीय र एक चिनियाँ समेत छन् । अनुसन्धानका क्रममा व्यापारी राकेशकुमार अडुकिया अनुसन्धानकाे घेरामा रहेकाे बताइएकाे छ ।

Facebook Comments