रंगमञ्च दिवसमा प्रेस क्लबको अन्तरक्रिया

सबैको सामुहिक प्रयासमा पोखराको रंगमञ्चलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड
प्रेस क्लब गण्डकीले सोमबार ‘कोभिड १९ पछिको पोखराको रंगमञ्च र अबको बाटो’ शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विश्व रंगमञ्च दिवसको अवसरमा पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना गरिएको कार्यक्रममा सबैको सामुहिक प्रयासमा पोखराको रंगमञ्चलाई थप व्यवस्थित गर्नुपर्नेमा वत्ताहरुले जोड दिएका थिए ।

अहिले भइरहेका गतिविधिमा मात्र सन्तुष्ट नभई भएका कमीकमजोरीलाई सुधार गर्दै अगाडि बढ्न सकेमा यसको भविष्य सुन्दर हुन सक्ने उनीहरुको भनाई थियो । उनीहरुले नाटक क्षेत्रमा लाग्ने रंगकर्मीको दक्षता वृद्धि गर्न पोखरामा नाटक सम्बन्धी अध्ययन गर्नको लागि एकेडेमी आवश्यक भएको समेत औल्याए । यो क्षेत्रमा देखिएका केही समस्याका बारेमा समेत उनीहरुले खुलेर कुरा गरें ।

वक्ताको रुपमा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, पोखरा थिएटरका अध्यक्ष परिवर्तन, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ जसमाया गुरुङ जसु, इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेल र कार्यक्रमको सहजिकरण क्लबका उपाध्यक्ष राजाराम पौडेलले गर्नुभएकाे थियाे ।

कार्यक्रममा बोल्दै पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले प्रतिष्ठान स्वायत्त हुन नसक्दा कला क्षेत्रमा अपेक्षाकृत काम गर्न नसकेको बताउनुभयाे । उहाँले पोखरामा सुविधा सम्पन्न थिएटर आवश्यक रहेको भन्दै त्यसको निर्माणमा सबैजनाले पहल गर्नु पर्ने कुरामा जोड दिनुभयाे ।

प्रतिष्ठानले नियम विनियमहरु निमार्ण गरे पनि कार्यान्वयनमा जान नसक्दा पोखराको कला क्षेत्रमा उल्लेख्य काम गर्न नसकेका स्विकारे । प्रक्रियागत झन्झटिललाका कारण समेत काम गर्न समस्या भएको उहाँकाे भनाइ छ । यति हुँदा हुदै समेत पोखरामा भइरहेका रंगमञ्चिय गतिविधिमा सधै साथ सहयोग गर्दै आएको र निरन्तरता दिने बताउनुभयाे ।

पोखरा थिएटरका अध्यक्ष परिर्वतनले सधैं राज्यको मुख ताक्नु गलत रहेको बताउनुभयाे । राज्यले नीतिगत रुपमा प्रोत्साहान गरेर पोखरामा नाटक सम्बन्धी अध्ययन गर्नको लागि नाट्य एकेडेमी संचाल गर्नुपर्ने र आवश्यकता औल्याउनुभयाे । विद्यालयको पाठ्यक्रम निमार्ण गर्दा नाटकलाई समेत समावेश गरी स्थानीय र प्रदेश सरकार लाग्न सके नाट्य क्षेत्रको भविष्य उज्वल हुने उहाँको भनाई थियो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य जसुमाया गुरुङ जसुले पोखरामा भएका रंगमञ्चिय गतिविधि निरन्तर हुन जरुरी रहेको बताउनुभयाे । उहाँले नाटकको माध्यमबाट प्रदेशको कला स्थानीय संस्कृतीहरुको संरक्षण हुने र नयाँ पुस्तामा लोक संस्कृतीको हस्तान्तरण हुने बताउनुभयाे । ग

इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले पोखराका रंगकर्मी परिवर्तन हुन आवश्यक रहेको बताउनुभयाे । पोखराले नाट्य क्षेत्रमा अझै फराकिलो गरी सोच्नुपर्ने उहाँको भनाई थियो ।

राज्यका निकायले प्रदान गर्ने सहयोग कम भएको प्रति चिन्ता व्यक्त गर्दै दिने भनिएको सहयोग समेत समयमा पाउन नसक्दा समस्या हुने गरेको खुलाउनुभयाे।
कार्यक्रममा सहभागी मदनराज थापा, सन्तोष बस्याल, लक्ष्मण डुम्रे, आशा मगर लगायतले समेत अबको बाटो सुन्दर बनाउन सुझाब दिएका दिएका थिए ।

पोखरा प्रज्ञा प्रतिष्ठान र पोखरा थिएटरको सहकार्यमा कार्यक्रम गरिएको हो । क्लबका अध्यक्ष एकराज गिरी र सचिव गौरव त्रिपाठीले पनि प्रेस क्लब तथा अन्तरक्रिया कार्यक्रमको महत्वका बारेमा प्रष्ट पारेका थिए ।

सोही कार्यक्रममा पोखरा थिएटरको प्रस्तुतीमा आगामी बैशाख १ गतेदेखि ९ गतेसम्म मञ्चन हुने नाटक उर्वशी सूक्तको पोष्टर सार्वजनिक समेत गरिएको थियो ।

शिव संकल्पले परिकल्पना तथा लेखन गरेको नाटकको निर्देशन त्रिवेणीले गर्नुहुनेछ । विश्व रंगमञ्च दिवस हरेक वर्ष मार्च २७ मा मनाइन्छ । अन्तराष्ट्रिय रंगमञ्च संस्थानद्धारा सन् १९६२ बाट यो दिवस मनाउन थालिएको हो ।

यस अगाडि प्रेस क्लबले ‘स्ववियु आवश्यकता र औचित्य’ विषयक अन्तक्रिया कार्यक्रम समेत आयोजना गरेको थियो । यस्ता कार्यक्रम निरन्तर रुपमा आयोजना गर्ने प्रेस क्लब गण्डकीले जनाएको छ ।

Facebook Comments