काठमाडौं महानगरपालिका र अभियन्ता ईःबीच सहमति

फुटपाथ/सार्वजनिक स्थलमा व्यापार सम्बन्धमा अध्ययन गर्न समिति गठन गरिने

काठमाडाैं महानगरपालिका क्षेत्रमा अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति लगायतका बिषयमा अध्ययन गरिने भएकाे छ ।

अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानुनी व्यवस्था समेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझावसहित अध्ययन गरी २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेस गर्न गठन गर्न लागिएकाे हाे ।

मूल गेटमा निरन्तर उभिएर प्रदर्शन गरिरहनुभएका अभियानकर्ता ई: सँगकाे वार्तामा काठमाडाैं महागनरपालिकाले यस्ताे सहमति गरेकाे हाे ।

काठमाडौं महानगरपालिका र अभियन्ता ईःबीच राष्ट्रिय सभा गृहमा बुधबार रातीसम्म चलेकाे वार्तामा यस्ताे सहमति जुटेकाे हाे ।

दुई पक्षबीच चार बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। सडक व्यापारी प्रतिनिधिको रोहबरमा भएको सहमति पत्रमा काठमाडौं महानगरपालिकाका तर्फबाट कार्यपालिका सदस्य चिनीकाजी महर्जन र मेयर बालेन शाहको सचिवालय सदस्य धिरज जोशी र अभियानकर्ता ई:काे हस्ताक्षर छ ।

सहमतिका बुँदाहरू

१. फुटपाथ/सार्वजनिक स्थलमा व्यापार गर्ने विषयलाई सम्बोधन गर्न १९९ घन्टादेखि राष्ट्रिय सभागृहको मूल गेटमा निरन्तर उभिएर प्रदर्शन गरिरहनुभएका अभियानकर्ता ई: र सहभागी साथीहरूको स्वास्थ्यलाभको कामना गर्दै सो प्रदर्शन आजैबाट स्थगित गर्ने।

२. फुटपाथ/सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरू महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई महानगरले फिर्ता गर्ने।

३. अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानुनी व्यवस्था समेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझावसहित अध्ययन गरी २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेस गर्न देहाय बमोजिमको समिति गठन गर्नेः

क. महानगरपालिकाले तोकेका ३ जना

ख. अभियानकर्ता ई: को तर्फबाट तोकिएका प्रतिनिधि २ जना

ग. भौतिक तथा यातायात मन्त्रालयको प्रतिनिधि १ जना

घ. सहरी विकास मन्त्रालयको प्रतिनिधि १ जना

ङ. ट्राफिक प्रहरीको प्रतिनिधि १ जना

४.साविकमा फुटपाथ/सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिकाभित्र कानुनले निषेध गरेका स्थानबाहेक अन्यत्रका उपयुक्त स्थलहरू पहिचान गर्न महानगरपालिकाले आजको मितिले एक हप्ताभित्र पहल गर्नेछ।

Facebook Comments