राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस नेपालमा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका क्रममा नेपाल आइपुग्नुभएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे निमन्त्रणामा महासचिव गुटरेस नेपाल भ्रमणमा आउनुभएकाे हाे ।

राति एक बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा गुटरेसलाई परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थलमै स्वागत गर्नुभयाे ।

भ्रमणको पहिलो दिन आज आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग महासचिव गुटरेसले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

गुटरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ  ।

ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्र, नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी भ्रमण गर्ने कार्यतालिका महासचिव गुटरेसकाे छ ।

प्रधानमन्त्री प्रचण्डले महासचिव गुटरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुभएकाे छ भने उहाँले मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

गुटरेससँग नेपालकाे शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । जलवायु परिवर्तनमा नेपाल जस्ता कम विकसित मुलुकहरूकाे कुनै भूमिका नभएपनि असर भने भाेग्नुपरेकाले त्यसका उचित सम्बाेधन हुनुपर्ने नेपाल लगायतका मुलुकहरूकाे माग छ ।

Facebook Comments