प्रहरी समयाेजनका लागि प्रदेशका तर्फबाट संघीय सरकारकाे ध्यानाकर्षण
प्रहरी समायोजनको माग गर्दै प्रदेशका गृहमन्त्रीहरुले संघीय सरकारकाे ध्यानाकर्षण गराएका छन् ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संघीय सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न पुगेका सातै प्रदेशका गृहमन्त्री (आन्तरिक मामिला तथा कानूनमन्त्री) हरुले ध्यानाकर्षण पत्र समेट बुझाएका छन् ।
उनीहरुले प्रहरीको संरचना र कर्मचारी प्रदेशमा हस्तान्तरण नगर्दा प्रदेशको शान्ति सुरक्षामा प्रभावकारी हुन नसकेको भन्दै अविलम्व प्रहरी समायोजन गरी शान्ति सुरक्षाको जिम्मेवारी प्रदेश मातहत ल्याउन माग गरेका हुन् ।
साे अवसरमा प्रदेशका गृहमन्त्रीहरूले प्रहरी समायोजनको प्रक्रिया अविलम्ब अगाडि बढाइ प्रदेशलाई अधिकार सम्पन्न बनाउन आग्रह गरेका थिए ।
प्रहरी कर्मचारी समायोजन ऐन २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐन २०७६ संघीय संसदबाट पारित भएर प्रमाणीकरण भएको ४ वर्ष हुँदासमेत प्रहरी समायाेजन हुन सकेकाे छैन ।
‘संघीय संसदले पारित गरिसकेको ऐनको मर्म र भावना अनुसार अविलम्ब प्रहरी समायोजन गरी प्रदेश सरकार मातहत ल्याउन समायोजनका लागि आवश्यक कारबाही अगाडि बढाइदिनुहुन माननीय गृहमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहान्छौं’ ज्ञापनपत्रमा भनिएको छ ।

