बागमती मुख्यमन्त्री जम्कट्टेल तेस्रो पटक विश्वासको मत लिन सफल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट सोमबार तेस्रो विश्वासको लिनुभएकाे छ ।
प्रदेश सभा बैठकमा उहाँले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे भने विपक्षमा ३७ मत परेको छ । १५ मत तटस्थ रह्यो ।
मुख्यमन्त्री जम्कट्टेलको पक्षमा माओवादी केन्द्रका २१, एमालेका २७, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ जना सांसदले विश्वासको मत दिएका हुन् ।
कांग्रेस र नेपाल मजदुर किसान पार्टीले भने विपक्षमा मतदान गरेको छ । राप्रपा तटस्थ रह्यो । ११० सदस्यीय प्रदेश सभाको सोमबारको बैठकमा १०८ जनाको उपस्थिति थियो ।
एमालेसहितको गठबन्धनमा २०७९ पुस २५ मा मुख्यमन्त्री नियुक्त जम्कट्टेलले यसअघि सोही वर्ष माघ ३ मा पहिलोपटक विश्वासको मत लिनुभएकाे थियाे ।
केन्द्रमा माओवादीसँग गठबन्धन टुटेसँगै प्रदेश सरकारबाट एमाले बाहिरिएको थियो । एमोलेले समर्थन फिर्ता लिएपछि जम्कट्टेलले दोस्रो पटक सोही वर्ष चैत १० मा विश्वासको मत लिनुभएकाे थियाे । त्यसबेला कांग्रेस सहितका दलकाे समर्थन थियाे ।

