कांग्रेसबाट राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवार छनाैट

संस्थापन र इतर समूहवीचकाे रस्साकस्सीवीच नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवार टुंगो लगाएको छ । माघ ११ मा हुने निर्वाचनका लागि संस्थापन पक्षका ७ र संस्थापन इतर पक्षका ३ गरी १० उम्मेदवार कांग्रेसले टुंगो लगाएको हो ।

आइतबार राति अबेर सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र सोमबार बिहान बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार छनोट गरेको हो ।

जसअनुसार कोशीमा पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला, मधेशमा आनन्द प्रसाद ढुंगाना, वाग्मतीमा विष्णु देवी पुडासैनी र जितजंग बस्नेतलाइ टिकट दिइएकाे छ ।

त्यस्तै गण्डकीमा किरण बाबु श्रेष्ठ र पदम बहादुर परियार, लुम्बिनीमा विष्णु देवी सापकोटा, कर्णालीका प्रदेश महामन्त्री कृष्ण रोकाया र सुदूरपश्चिमबाट नारायणदत्त भट्ट र बलदेव बोहरालाइ टिकट दिइएकाे छ ।

पार्टीले गरेकाे निर्णय कार्यान्वयनमा सहयाेग गर्ने तर निर्णयमा भने फरक मत रहेकाे भन्दै महामन्त्री गगन थापा सहितका नेताले लिखित असहमति जनाएका छन् ।

Facebook Comments