राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एमालेले १९ सिटमा नै उम्मेदवारी दिने
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपा एमालेले निर्वाचन हुने १९ वटै सिटमा उम्मेदवारी दिने भएकाे छ । एमालेले सातै प्रदेशबाट उम्मेदवारको टुंगो लगाएको छ ।
एमालेका महासचिव शंकर पोखरेलका अनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर) तथा मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी)लाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
त्यस्तै, बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता-अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं) र दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ)लाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता-अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ) तथा लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ) र अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा)लाई उम्मेदवार बनाएको छ ।
कर्णालीमा महिलातर्फ विमलाकुमारी शाही (हुम्ला), अन्यतर्फ डिल्लीप्रसाद भट्ट (मुगु), दलिततर्फ हिक्मत विक (दैलेख) र सुदूरपश्चिममा महिलातर्फ सावित्रादेवी घिमिरे (कैलाली), अन्यतर्फ ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता-अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली)लाई उम्मेदवार बनाएको छ ।
माघ ११ मा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा आज साेमबार उम्मेदवारी दर्ताकाे कार्यतालिका छ । यसअघि सत्ता गठबन्धनसँग सिट बाँडफाँडका लागि प्रयास गरेपनि साे सफल नभएपछि एमालेले १९ वटै सिटमा उम्मेदवारी दिन लागेकाे हाे ।

