आज महाशिवरात्रि पर्व, पशुपति क्षेत्रमा भक्तजनको घुँइचो

आज महाशिवरात्री पर्व, हिन्दु धर्मावलम्वीहरूले हर्षाेल्लासका साथ मनाउँदैछन् । काठमाण्डाैकाे पशुपति क्षेत्रमा शुक्रबार विहानैदेखि भक्तजनको घुँइचो लागेको छ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वमा भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइँदैछ ।

आज पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भीड लागेको हाे । पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको घुइँचो छ । बिहान २ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको पशुपति विकास कोषले जनाएको छ ।

पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आउने गरेका छन् । यस वर्षको महाशिरात्रीमा कम्तिमा २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने कोषको अनुमान छ ।

पर्वलाई लक्षित गरी कोषले पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड-रक्सी तथा मासु पूणर्रूपमा निषेध गरेको छ । आज पशुपति क्षेत्रका लागि प्रहरीले विशेष सुरक्षा योजना बनाएर लागू गरेको छ भने पर्वकै लागि पशुपति क्षेत्र विकास कोषले करिब छ सय जना स्वयम्सेवक परिचालन गरेको छ ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्। शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर  लगायतका मन्दिरहरूमा दर्शनार्थीहरुको घुइँचो छ ।

आज भक्तजनहरू व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजाअर्चना गर्छन्। आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाइ भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाइ खाने पनि चलन रही आएको छ ।

महाशिवरात्रि पर्व सञ्चालन तथा व्यवस्थापनका लागि मूल समिति गठन गरी पशुपति क्षेत्रमा जनशक्ति खटाइएको छ। साधु, सन्त महन्तलाई शिवरात्रि अवधिभर विभिन्न स्थानमा धुनी ताप्ने दाउरा, भोजन, जलपानको व्यवस्था गरिएको संस्थानले जनाएको छ।

Facebook Comments