क्यानडामा छुरा प्रहारबाट ६ जनाको निर्मम हत्या
क्यानडामा छुरी प्रहार हुँदा ६ जनाको मृत्यु भएको छ । राजधानी ओटावामा भएको घटनामा श्रीलङ्काका एक १९ वर्षीय विद्यार्थीले आफ्ना ६ जना रुममेटलाई छुरा प्रहार गरी हत्या गरेको क्यानडा प्रहरीले जनाएको छ ।
मृतकमध्ये ५ जना एकै परिवारका र एक पुरूष पनि उनीहरूका आफन्त रहेकाे बताइएकाे छ । मृतक परिवार र छुरा प्रहार गर्ने व्यक्ति पनि सँगै बस्ने गरेकाे प्रहरीले जनाएकाे छ।
मृत्यु हुनेमा चार बालबालिका श्रीलंकन रहेका छन् । हत्या गर्ने १९ बर्षीय विद्यार्थीलाई भने नियन्त्रणमा लिइएको छ ।
ओटावाका प्रहरी प्रमुख एरिक स्टब्सका अनुसार फाब्रिसियो डे-जोयसा भनेर चिनिने अभियुक्तले सँगै बस्ने व्यक्तिहरूलाई धारिलो हतियारले आक्रमण गरेका थिए । उनीमाथि छ वटा फर्स्ट डिग्री हत्या र एक हत्या प्रयासको आरोप लगाइएको छ ।
मृतकहरू हालै क्यानडा आएका श्रीलंकाली नागरिक रहेको प्रहरीले जनाएकाे छ । जसमा ३५ वर्षीया आमा, सात वर्षीय छोरा, चार वर्षीया छोरी, दुई वर्षीया छोरी र साढे दुई महिनाकी छोरी रहेका छन् । साथै परिवारका आफन्त अर्का ४० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । के कारणले ती विद्यार्थीले हत्या गरे भन्ने खुलेको छैन ।

