भारतीय प्रधानमन्त्री माेदीकाे सपथग्रहणः प्रधानमन्त्री प्रचण्ड सहभागी हुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आज हुने सपथग्रहण समाराेहमा सरिक हुन भारतकाे दिल्ली जाँदै हुनुहुन्छ ।
भारतका प्रधानमन्त्री माेदीकाे मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भारतको औपचारिक भ्रमणमा जान लाग्नुभएकाे हाे ।
आइतबार बेलुका नयाँ दिल्लीमा हुने प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड स्वीकय सचिव गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी सहभागी हुनेछन् ।
लोकसभा चुनावमा एनडीएको २९२ सिटमा जितसँगै नरेन्द्र मोदीले तेस्रो पटक भारतको प्रधानमन्त्री बन्नुभएकाे छ ।
मोदी र सरकारको मन्त्रिपरिषद्का केही सदस्यले आज शपथ लिने कार्यक्रम तय भएकाे छ ।
शपथ ग्रहण समारोहमा धेरै देशका प्रमुखलाई निमन्त्रणा गरिएको छ । छिमेकी राष्ट्रका अन्य सरकार प्रमुखमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, मौरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ , मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जू लगायत शपथग्रहणमा सहभागी हुनेछन् ।
केन्द्रीय सरकारको विज्ञप्ति अनुसार राष्ट्रपति द्रौपदी मुर्मुले शपथ ग्रहण समारोहमा सहभागी हुने विदेशी नेताहरूका लागि राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गर्नुहुनेछ ।
भारतको ‘छिमेकी नीति’ र ‘सागर’ भिजन अन्तर्गत छिमेकी राष्ट्रका नेताहरूलाई आमन्त्रण गरिएको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री प्रचण्डले छिमेकी देशका प्रमुखहरूसँग साइडलाइन भेटवार्ता गर्ने बताइएकाे छ ।

