नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी चयन
नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशम चौधरी निर्विरोध चयन हुनुभएकाे छ ।

कैलालीको टीकापुरमा चलिरहेको पार्टीको पहिलो महाधिवेशनमा अध्यक्ष पदमा रेशम चाैधरीकाे मात्र उम्मेदवारी परेपछि उहाँ अध्यक्षमा सर्वसम्मत चयन हुनुभएकाे हाे ।
टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय काटिरहेका बेला रेशमले श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहने गरी १९ पुस २०७८ मा निर्वाचन आयोगमा दर्ता गरी नाउपा गठन गर्नुभएकाे हाे ।
गणतन्त्र दिवसको अवसरमा सरकारले बाँकी कैद मिनाहा गरेपछि रेशम पार्टी गतिविधिमा सक्रिय रहँदै नेतृत्व लिनुभएकाे हाे ।
नाउपाको विधानमा ३९ जना पदाधिकारीसहित २४६ जना केन्द्रीय सदस्य निर्वाचित र २५५ जना मनोनित गर्ने व्यवस्था छ ।
अध्यक्षमा निर्वाचित चाैधरी फाैजदारी मुद्दामा दाेषी ठहर भएकाले निर्वाचन आयोगले मान्यता दिने नदिने भने टुंगाे छैन । महाधिवेशनकाे १ महिनाभित्र पार्टीकाे विवरण आयोग समक्ष पेश गर्नुपर्ने हुन्छ ।

