पाेखरामा ६/६ किलो सुन र चाँदी सहित भारतीय नागरिक पक्राउ
कास्कीको पोखरामा ६/६ किलो सुन र चाँदी सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेकाे छ ।

साे परिमाणमा सुन र चाँदी सहित नगद ६३ लाख रूपैयाँ सहित पोखरा महानगरपालिका वडा नम्बर २ मोहरिया बस्ने भारतीय नागरिक सुरजित भौमिकलाई पक्राउ गरी सार्वजनिक गरेकाे छ ।
भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर-११ घर भई पोखरामा भाडामा बस्ने ४० वर्षीय सुरजितले अवैध रूपमा सुन ल्याएको सुराकी पाएपछि प्रहरीले निजकाे काेठामा खानतलासी गर्दा उक्त नगद र सुनचाँदी भेट्टाएकाे हाे ।
मंगलबार बिहान साढे ४ बजेसम्म कास्कीको टोलीले कोठामा लुकाएर राखेका सुनचाँदी तथा नगद बरामद गरेको कार्यालयका प्रमुख एसपी मोहन थापाले जानकारी दिनुभयाे ।
सुरजितले कोठामा फेला परेका गहना र नगदको स्रोत खुलाउन नसकेपछि पक्राउ गरेको प्रहरीकाे भनाइ छ । प्रहरीका अनुसार सुनका गहना, काँचो सुन, सुनको बिस्कुट गरी जम्मा ६ किलो ६९ ग्राम सुन बरामद भएको छ।

