काठमाडौं महानगरले ‘सुलभ फार्मेसी’ खाेल्ने
काठमाडौँ महानगरपालिकाले स्वर्णिम योजनाकारुपमा न्यूनतम मूल्यमा औषधि विक्री वितरण गर्ने गरी ‘सुलभ फार्मेसी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेटबमोजिम सो कार्यक्रम कार्यान्वयनका लागि निर्देशिका तयार गरी सुलभ फार्मेसी सञ्चालन गर्न लागिएको हो ।
बुधबार प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको अध्यक्षतामा बसेको बैठकले निर्देशिका तयार गर्न कार्यदल गठन गरेको हो । बैठकमा प्रमुख प्रशासकीय अधिकृत परियारले सकेसम्म छिटो सुलभ फार्मेसी सञ्चालनका लागि निर्देशिका तयार गरी अघि बढ्नुपर्ने बताउनुभयाे ।
बैठकले महानगरको कानून तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यको संयोजकत्वमा निर्देशिका मस्यौदा समिति गठन गरिएको छ ।
समितिको सदस्यमा फर्मासिष्ट बाबुराम हुमागाईँ, संगीता माथेमा, चैन बज्राचार्य, मणि लामा र स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जन रहेका छन् । निर्देशिकाको मस्यौदा तयार गर्न सो कार्यदललाई ७ दिनको समय दिइएको छ ।
सो बैठकमा प्रमुख प्रशासकीय अधिकृत परियारले भन्रुभयाे, ‘यस प्रकारका फार्मेसी सञ्चालन गर्न अनेक ढाँचा हुन सक्छन् । यीमध्ये चालु आर्थिक बर्षमा महानगरपालिका आफैँले ५ वटा फार्मेसी सञ्चालन हुने गरी काम गर्नुपर्नेछ । गुणस्तरीय र दिगो कार्यक्रम यसको न्युनतम आधार रेखा हो ।’
उहाँले बजारमा नागरिकहरू फार्मेसीबाट ठगिनुपर्ने अवस्था रहेको भन्दै त्यसलाई व्यवस्थित गर्न समेत महानगरपालिकाले सुलभ फार्मेसी सञ्चालन गरी नागरिकलाई राहत दिनुपर्ने बताउनुभयाे ।
छलफलमा फर्मासिष्टले बताएअनुसार हाल उपभोक्ताले औषधिको मूल्यभन्दा ४० प्रतिशतभन्दा बढीसम्म मूल्य तिर्नुपर्ने बाध्यता रहेको छ । कतिपय औषधिमा चार गुणासम्म मूल्य निर्धारण भएर बजारमा आएको उनीहरुको भनाइ छ ।

