तनहुँको बन्दीपुरमा केबलकार सञ्चालनमा

तनहुँको बन्दीपुरमा निर्माण सम्पन्न भएको केबलकार बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टीयूभी सर्टिफिकेट) प्राप्त गरेपछि व्यावसायिक रुपमा बिहीबारदेखि सञ्चालनमा ल्याइएको बन्दीपुर केबलकारका कार्यकारी अधिकृत किरण पोख्रेलले जानकारी दिनुभयाे ।

गत वैशाख १ गतेबाटै आंशिक रुपमा चलाइएको केबलकार बिहीबारदेखि व्यावसायिक सञ्चालनमा आएको हो ।

कम्पनीले करिब एक वर्ष अगाडिदेखि नै केबलकार जडान सम्पन्न गरी लोड परीक्षण भएको जनाएको छ ।

तीन चरणमा परीक्षणकाल सकिएपछि कम्पनीलाई व्यावसायिक ‘अप्रेसन टीयूभी’ प्रमाणपत्र प्राप्त भएको हाे ।

कम्पनीका अध्यक्ष रामचन्द्र शर्माका अनुसार सेवाग्राहीकाे सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएर केबलकार सञ्चालन गरिएकाे छ ।

बन्दीपुर गाउँपालिका–४ को डुम्रेबजार नजिकै केबलकार चोकबाट मन्दिरसम्म एक हजार सात सय मिटर दूरी ७ मिनेटमा पार गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार केबलकारको ३१ डिब्बामध्ये २१ वटाले यात्रु बोक्नेछन् भने अन्यले सामग्री ढुवानी गर्नेछन् ।

दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन गर्ने गरी केबलकार चलाइएको हो । यस केबलकारमा रेष्टरेन्ट सहितकाे सेवा प्रदान गर्ने तयारी कम्पनीकाे छ ।

केबलबारकाे टप स्टेशनमा सुविधासम्पन्न हाेटल पनि साेही समूहले निर्माण गरिरहेकाे छ ।

Facebook Comments