भ्रष्टाचार मुद्दा दर्ता भएसँगै मुख्य सचिव अर्याल स्वतः निलम्बित

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुख्य सचिव बैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्दा लगाएसँगै अर्याल स्वतः निलम्बनमा पर्नुभएकाे छ ।

अर्याल सहितका अधिकारीले अन्तशुल्क स्टिकर छपाइ सम्बन्धी निर्णय गर्दा कानुन विपरीत कार्य गरी राज्यमाथि हानी नाेक्सानी भएको अख्तियारको आरोप छ।

अन्त:शुल्क स्टिकरको छपाइ सम्बन्धी निर्णयमा अर्याल सहित १२ पदाधिकारी तथा कर्मचारी संलग्न रहेर ३८ करोड ६७ लाख १७ हजार रूपैयाँ नेपाल सरकारलाई हानि-नोक्सानी पुर्र भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

अख्तियारले यो मुद्दामा अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, आन्तरिक राजश्व विभागका तत्कालीन निर्देशक गणेशविक्रम शाही, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, रविन्द्रप्रसाद पौडेल, लेखा अधिकृत विष्णुप्रसाद गौतम, केन्द्रका शाखा अधिकृत हरिबल्लभ पौडेल, खरिद परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्टसेल प्रालि कम्पनी र उक्त कम्पनीका निर्देशक केशव शर्मालाई पनि प्रतिवादी बनाएको छ। 

अर्यालले अनधिकृत रूपमा  ६ करोड ८४ लाख ४५ हजार भुक्तानी समेत गरेकाले उक्त रकम असुल गर्नुपर्ने तथा आफूलाई नभएको अधिकार प्रयोग गरेकाले उक्त ऐनको दफा १५ बमोजिम एक वर्षदेखि २ वर्षसम्म र ५० हजारदेखि १ लाखसम्म जरिवाना हुनुपर्ने अख्तियारकाे माग छ। त्यस्तै अर्यालविशिष्ट श्रेणीको पदाधिकारी हुँदा भ्रष्टाचार गरेकाले थप तीन वर्षसम्म कैद हुनुपर्ने अख्तियारको दाबी छ ।

Facebook Comments