डेडिकेटेड र ट्रंकलाइन महशुल विवादः विद्युत् प्राधिकरणले ४३ उद्योगहरूको लाइन काट्याे

डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको विवादमा नेपाल विद्युत् प्राधिकरणले फेरि उद्योगहरूको लाइन काटेको छ ।

बिहीबार बिहान बसेको प्राधिकरण बोर्ड बैठकमा पनि ऊर्जा मन्त्री खड्काले डेडिकेटेड तथा ट्रंक लाइन विवाद दिगो रुपमा समाधान गर्नुपर्ने भन्दै उद्योगीहरूको लाइन तत्काल नकाट्न निर्देशन दिएपनि प्राधिकरणले भने लाइन काटेकाे हाे ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन नकाट्ने हो भने बोर्डले अथवा मन्त्रिपरिषद्ले निर्णय गरिदिनुपर्ने बताएकाे बुझिएकाे छ । मन्त्री खड्काले लाइन नकाट्न निर्देशन दिएपनि मन्त्रीकाे निर्देशनकाे प्राधिकरणले अवज्ञा गरेकाे हाे ।

बाेर्ड बैठकपछि प्राधिकरणले उद्योगका प्रतिनिधिहरूलाई कार्यालयमा बाेलाएर किस्ताबन्दीमा बक्याैता भुक्तानी गर्न भनेपनि व्यवसायी त्यसमा तयार नभएकाले ४३ वटा उद्याेगका लाइन काटेकाे हाे ।

पछिल्लो पटक प्राधिकरणले २४ असोजमा उद्योगहरूलाई विद्युत् महसुल बुझाउनका लागि ८ कात्तिकसम्मको समयसीमा दिएको थियो ।

तर, उक्त समयमा पनि विद्युत् महसुल नतिरेको भन्दै प्रधिकरणले उद्योगीहरूको लाइन काटेको हो । यसअघि ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणलाई उद्योगीहरूको लाइन नकाट्न भनेका थिए । तर, प्राधिकरणले गए राति उद्योगीहरूको लाइन काटिदिएको हो ।

विद्युत् महसुलसम्बन्धी विवादमा प्राधिकरण र उद्योगीबीच विवाद छ । अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, जीबी टेक्साइल, घराना फुड, गोयन्का फुड, एसआर फुड, भलबारी स्वचालित चामल मिललगायत १० उद्योगको लाइन काटिएको उद्योगीहरूले जनाएका छन् ।

Facebook Comments