इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका नेम्बाङ विजयी

इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका सुहाङ नेम्बाङ निर्वाचित हुनुभएकाे छ । शनिबार भएको उपनिर्वाचनको मंगलबार बिहान सकिएको मतगणनाको अन्तिम परिणामअनुसार नेम्बाङले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ५ हजार ८३० मतले पराजित गर्दै नेम्बाङ निर्वाचित हुनुभएकाे हाे ।

नेम्बाङले २७ हजार ७७२ मत ल्याएर विजयी भए भने कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाउनुभयाे भने निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत प्राप्त गर्नुभएकाे छ ।

अघिल्लो निर्वाचनमा इलाम–२ बाट सुहाङका बुवा सुवासचन्द्र नेम्बाङ विजयी हुनुभएकाे थियाे । तर उहाँको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको हो । इलाम–२ मा एमालेले डेढ दशकदेखिको विरासतलाई निरन्तरता दिएको छ ।

उता बझाङ प्रदेशसभा क्षेत्र नं. १ मा पनि नेकपा एमालेकै दमनबहादुर भण्डारी निर्वाचित हुनुभएकाे छ । यो उपनिर्वाचनमा एमालेले निर्वाचन भएका दुवै क्षेत्रमा जित निकालेको हो ।

इलाम–२ मा रास्वपाका मिलन लिम्बुसहित १६ उम्मेदवारको जमानत जफत

इलाम–२ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्थात् घण्टीका उम्मेदवार मिलनकुमार लिम्बुसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ । गत निर्वाचनअघि सञ्चारकर्ममा हासिल गरेको लोकप्रियतालाई दल खोलेर निर्वाचनबाट मतमा परिणत गराएका रवि लामिछानेको दल रास्वपा अहिले सत्तामा छ ।

आमनिर्वाचनलगत्तै भएको भएको उपनिर्वाचनमा तनहुँ र चितवन दुई ठाउँबाट जितेर हौसिएका लामिछानेको दल रास्वपाले यसपटक इलाम–२ मा भने जमानत समेत जोगाउन सकेन ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ ले निर्वाचनमा सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ ।

इलाम–२ को उपनिर्वाचनमा लिम्बुसहित १६ जना उम्मेदवारको जमानत जफत हुने अन्तिम मतपरिणामले देखाएको छ ।

निर्वाचन आयोगका अनुसार १० जना उम्मेदवारले १०० मत पनि कटाउन सकेनन् । नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईले ४०८, मंगोल नेशनल अर्गनाइजेसनका मनिकुमार लिम्बुले ८१६, राप्रपाका लक्ष्मी गुरुङले ४०४ र जनमतका प्रेमकुमार थाम्सुहाङले ११८ मत मात्रै पाएका छन् ।

Facebook Comments