अनेरास्ववियु क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लागू हुने, अधिकांश नेतृत्वका आकांक्षीहरू विदा हुने
अनेरास्ववियु क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लागू हुने भएपछि नेतृत्वका लागि आकांक्षा राख्ने निर्वतमान कार्यसमितिका अधिकांशले विदा पाउने भएका छन् ।

उमेरहद लागू गर्नुपर्ने पक्षधर विजयी भएपछि निवर्तमान कार्यसमितिका दुई तिहाइभन्दा बढी पदाधिकारी बिदा हुने देखिएकाे हाे ।

निर्वाचन आयोगले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणाम अनुसार उमेहद पक्षधरले खुला पक्षधरलाई २१ मत पराजित गरेको उल्लेख छ । उमेरहद लगाउने कि खुला गर्ने विवाद अन्त्य गर्न शनिबार निर्वाचन भएको थियो ।
आयोगका अनुसार कुल २३९८ मतदातामध्ये १७७९ जनाले मत खसालेका थिए । जसमा ३२ वर्ष उमेरहद लागु गर्नुपर्छ भन्ने पक्षमा ९०० मत परेको थियो भने विपक्षमा ८७९ मत परेको थियो ।
आगामी माघ ५ गतेबाट नयाँ नेतृत्वका चुन्नका लागि निर्वाचन प्रक्रिया सुरु हुने र १२ गते नेतृत्व चयनका लागि मतदान हुने कार्यतालिका छ । संगठनमा ३२ वर्षे उमेरहद लागु भएपछि निवर्तमान समितिका अधिकांश बिदा हुने भएका हुन् ।
एक सय ७८ सदस्यीय पदाधिकारीमध्ये निवर्तमान उपाध्यक्षबाट प्रविना अधिकारी मात्र अध्यक्षमा उम्मेदवार बन्न पाउने एक विद्यार्थी नेताले जानकारी दिए । उनका अनुसार अध्यक्षका दाबेदार रहेका निवर्तमान उपाध्यक्षहरू इन्द्र भुसाल, जीपी मैनाली, तुकमान महरा, मिलन एम.सी, लक्ष्मीप्रसाद जोशी, नरेश रेग्मी, गजेन्द्रप्रसाद देव, राजकुमार याक्खो, मदन भुल, मदन भट्टराई, सूर्यनारायण साह, पवन कार्की, क्षितिज सापकोटा, नारायण खनाल, अम्बरराज शाही, अच्युत भट्ट, केशव रावल उमेरहदका कारण विद्यार्थी राजनीतिबाट विदा हुने भएका छन् ।
गत असोज १० देखि १५ सम्म त्रिभुवन विश्वविद्यालयस्थित स्मृति हलमा भएको क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा उमेरहद लगाउने कि नलगाउने सम्बन्धमा विवाद हुँदा स्थगित भएको थियो । त्यतिबेला १० वटा समूहगत छलफलबाट आएका निष्कर्षको आधारमा २८, ३० र ३२ वर्षे उमेरहद राख्नुपर्ने सुझाव आएको थियो ।

