निजामती विधेयकः ‘कुलिङ अफ पिरियड’ मा जालझेल भएपछि सांसद नै लज्जित
निजामती विधेयकमा राखिएकाे भनिएकाे ‘कुलिङ अफ पिरियड’ सम्बन्धि प्रावधानमा अन्तिम समयमा जालझेल भएपछि सांसद नै लज्जित भएकाे बताउन थालेका छन् । काँग्रेसका अधिकांश सांसदले साे प्रावधान सच्याउनुपर्ने बताउन थालेका छन् ।
निजामती विधेयकमा सरकारी सेवाबाट राजीनामा वा अवकाश भएको मितिले दुई वर्षसम्म कुनै पनि सरकारी नियुक्ति लिन नपाउने व्यवस्थामा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सचिवालयका कर्मचारी र सांसदले गम्भीर जालझेल गरेको भेटिएपछि सामाजिक सञ्चालमा समेत यस विषयले प्रवेश पाएकाे छ ।
कांग्रेस सांसद चन्द्र भण्डारीले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ ।
‘संसदमा सांसदलाई समेत ढाँट्ने छल्ने र किर्ते गर्ने गरे पछि ! स्वार्थका लागि यो मुलुक कति ठगिएको होला ? कहाँबाट गल्ती भएको छ ? यो अक्षम्य ठुलो अपराधको कारवाही इतिहास बन्ने गरी गर्नु पर्दछ । कति ठुलो छलछाम ! दायित्वमा रहेका सम्बद्ध पक्ष पनि परीक्षणको कसीमा हुनुपर्दछ । के के देख्नु , सुन्नु र भोग्नु पर्ने हो ? यो भन्दा ठुलो लज्जा पनि केही हुदैन !’
सन्दर्भ ; निजामती कर्मचारी विधेयक !!
विधेयकको दफा ८२ (४) मा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले अवकाशकाे दुई वर्ष सम्म संवैधानिक वा सरकारी पदमा नियुक्ति नपाउने प्रावधान छ ।
तर यस प्रावधानकाे खण्डित हुने गरी दफा ८२, (५), (क) मा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेकको पदमा’ भन्ने व्यवस्था गरिएकाे छ । यसले विधेयकको दफा ८२ (४) निष्प्रभावी बनाइदिनेछ ।


