विजयादशमीका दिन टिकाकाे साइत ११ः५३ मा
हिन्दुहरूकाे महान् पर्व बडादशैंकाे विजयादशमी असोज १६ गते विहीबारको टिका जमरा ग्रहणका लागि उत्तम साइत बिहान ११:५३ बजे उत्तम रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार नेपालको काठमाडौँका लागि असोज १६ गते बिहान ११:५३ बजेको साइत शुभ रहेको छ ।
नौ दिनसम्म पूजा अर्चना गरेको जमरा अनि दही, रातो अबिर, केरा र चामलसहितको सम्मिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षता विजयादशमीका दिन मान्यजनबाट लगाउने गरिन्छ ।
विजया दशमीको दिन सबै परिवार एकै ठाउँमा बसेर, घरको मूल खाँबो पूजा गरेर उमेर क्रमानुसार ठुला अनि क्रमशः सानाहरूले टीका, जमरा र आर्सीवाद थाप्ने प्रचलन छ ।
बौद्ध धर्मका अनुयायीहरूले सेतो टीका लगाएर प्रज्ञाको पूजा गरी याे पर्व मनाउँछन ।
घरको मूल टीका लगाएर ससुराली, मामाघर या ठुला बा, दाजु अनि अन्य मान्यजन कहाँ पुग्ने चलन छ । आजको दिन बाटोघाटोमा टीका अनि जमरा लगाएर सपरिवार हिँडेका दृश्यले पनि हामी नेपाली पारिवारिक सौहार्द्यता र सामीप्ययतामा कति विश्वास राख्छौँ भन्ने कुरालाई प्रस्ट पार्छ ।
पुरुषलाई टीका लगाइदिँदा भन्ने आशीर्वाद
ॐ
आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
यसको अर्थ:
ॐ
द्रोण पुत्र अश्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात शत्रुता हरणको क्षमता होस्, राजा नहुनको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस् ।।सूर्य पुत्र झैँ दानी होस्, भीमको जस्तो बल होस्, युधिष्ठिर जस्तो सत्यवान् होस्, विदुरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् ।
महिलालाई टिका लगाइदिँदा भन्ने आशीर्वाद
ॐ
जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते ।
अर्थात् ती देवी जसले सम्पूर्ण संसारलाई नै विजय गर्न सक्ने सामर्थ्य राख्छिन् । जो हरेक अन्धकारको निदान गर्न सक्छिन् । समयको पाबन्दीभन्दा पर रहेकी ती देवी जो मानव खप्परको माला लगाउँछिन् अनि हरेक प्रकारका दुःखको निदान गर्न सक्छिन् । यो जगत को रक्षा गर्ने हे देवी ! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौँ ।

