२ महिनाभित्र कीर्तिपुर क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्न प्रधानमन्त्रीकाे निर्देशन

निर्माण कार्यमा भएकाे ढिलाइबारे गम्भीर चासाे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको गम्भीर चासाे व्यक्त गर्नुभएकाे छ ।

साे विषयमा आज सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायी समेतकाे छलफलमा निर्माण कार्यमा भएकाे ढिलाइ सम्बन्धमा प्रधानमन्त्रीले गम्भीर चासाे व्यक्त गर्नुभएकाे थियाे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठससिहत सम्मलग्न निर्माण व्यवसायीसँग प्रधानमन्त्री ओलीले काम सुरु भए पनि तोकिएको समयमा काम सम्पन्न हुन नसक्ने स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयाे ।

प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभत्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लड लाइट जडान गर्ने घोषणा गर्नुभएकाे थियाे । उक्त ३०० दिन यही वैशाख २४ गते सकिँदैछ । ती दुई कामका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो ।

प्रधानमन्त्री ओलीले कुन लापर्वाही, कमजोरी वा के कारणले समयमा काम हुन सकेन र अब कति दिनमा गुणस्तरीयरुपमा काम पूरा हुन्छ भन्ने यकिन गर्न र आगामी दुई महिनाभित्र सम्पन्न गर्न कडा निर्देशन दिनुभयाे ।

छलफलमा प्यारापेटतर्फ वित्तीय प्रगति ४५.१९ र भौतिक प्रगति ५५ प्रतिशत तथा फ्लड लाइटतर्फ वित्तीय प्रगति २३.८१ र भौतिकतर्फ ३५ प्रतिशत प्रगति भएको प्रधानमन्त्री ओलीलाई जानकारी गराइयो । प्यारापेटका लागि रु ४९ करोड २५ लाख ६७ हजार तीन सय दुई र फ्लडलाइटका लागि रु ४७ करोड ३७ लाख ६८ हजार ७७ मा सम्झौता गरिएको थियो ।

छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याललगायत सहभागी थिए ।

Facebook Comments