पृथ्वी होटल व्यवसायी समितिमा नयाँ कार्यसमिति चयन
पोखरामा पर्यटन प्रवर्द्धनका लागि होटल व्यवसायीका दुई प्रमुख संगठन लेकसाइडको होटल संघ पोखरा र सिटी क्षेत्रको पृथ्वी होटल व्यवसायी समिति बीच सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। यसअघि छुट्टाछुट्टै कार्यक्रम गर्दै आएका यी संस्थाहरू अब आपसी समन्वय र एकताका साथ अगाडि बढ्ने भएका छन्।
पृथ्वी होटल व्यवसायी समितिको १३ औं साधारणसभा तथा सातौं अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेताहरूले आपसी सहकार्यमा जोड दिएका हुन् ।
यसै क्रममा, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले पर्यटकीय राजधानी पोखरामा पर्यटक आकर्षित गर्न सेवाको गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयाे । पर्यटन बोर्डले दक्ष जनशक्ति उत्पादनदेखि प्रवर्द्धनसम्मका कार्यमा सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयाे ।
पोखरा भ्रमण वर्ष–२०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले पृथ्वीचोकलाई ब्रान्डिङ गर्न सके पर्यटकलाई आकर्षित गर्न सकिने बताउनुभयाे । उहाँले बसपार्क र पोखरा सभागृह निर्माणमा जोड दिनुभयाे, जसले पृथ्वीचोकको भविष्य सुनिश्चित गर्न सक्ने उहाँको भनाइ थियो।
होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले सबै समितिको उद्देश्य पर्यटन प्रवर्द्धन भएकाले मिलेर अगाडि बढ्नुको विकल्प नरहेको औंल्याउनुभयाे ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले दुई संस्थाबीच दुस्मनी वा प्रतिस्पर्धाको भ्रम फैलाइएकोमा आपत्ति जनाउँदै आफूहरू एउटै उद्देश्यका साथ काम गर्ने ‘एउटै बाआमाका दुई छोरा’ जस्तै भएको बताउनुभयाे
पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अम्बिकाप्रसाद घिमिरे (अमृत) ले पोखरा पर्यटनको राजधानी भए पनि ठाउँ विशेषलाई प्राथमिकता दिँदा सिटीका होटलहरू ओझेलमा परेको गुनासो गर्नुभयाे ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतम, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल र पोखरा च्याम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले पनि पर्यटन प्रवर्द्धनमा सहकार्यको आवश्यकतामा जोड दिएका थिए ।
यसैवीच पृथ्बी हाेटल व्यवसाय समितिकाे अध्यक्षमा माेतिप्रसाद श्रेष्ठ, उपाध्यक्षमा ऋषिराम पाैडेल, उपाध्यक्ष विदुर ढुंगाना, महासचिवमा शाेभाकान्त शर्मा, सचिवमा कञ्चन बराल शर्मा, काेषाध्यक्षमा अनुप पाण्डेय, सहकाेषाध्यक्ष मित्रलाल ढकाल चयन हुनुभएकाे छ ।
त्यस्तै सदस्यहरूमा ढाेलराज डुम्रे, प्रदप पाैडेल, तिलक तिवारी, चिरञ्जीवी लामिछाने, लक्ष्मी गाैतम, शुशिला थापा, राम रजक र ज्ञानु परियार रहनुभएकाे छ ।

