जनताको जरासम्म फैलिएको पार्टी एमाले हाे, राजतन्त्र हुनै हालतमा फर्कदैनः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने बताउनुभएकाे छ ।
सो पार्टीको सिरहा जिल्लाको ११ औँ अधिवेशनलको उद्घाटनसत्रलाई आज सिरहा बजारमा सम्बोधन गर्दै उहाँले देश र जनताको हितबाहेक एमालेसँग अरु कुनै स्वार्थ नभएकाे जिकीर गर्नुभयाे ।
उहाँले देश जोगाउने पार्टी एमाले हाे भन्दै आम कार्यकर्ता र शुभेच्कुहरुलाई एमाले विरोधी भुलभुलैयामा नलाग्न आग्रह गर्नुभयाे ।
उहाँले भन्नुभयाे, ‘हाम्रो पार्टीलाई कसैले भित्तामा राख्छौँ भने, कसैले धुलो चटाउँछौँ भने, कसैले के भने तर एमालेलाई कसैले हल्लाउन सक्दैन भन्ने कुरा हामीप्रति जनताको उत्साहबाट स्पष्ट हुन्छ । मैले विगतमा प्रधानमन्त्री हुँदा सुनकोसी मरिन डाइभर्सन, हुलाकी राजमार्ग, शिक्षा र स्वास्थ्यमा सुधारका कार्यक्रम सुरु गरेँ । मधेसका समस्याहरु मलाई बढी थाहा छ । तिनको समाधानका लागि केन्द्र सरकारको तर्फबाट गर्नुपर्ने कुराहरुमा सरकार प्रतिबद्ध रहेको कुरा आजै मैले मधेस प्रदेशसभाको सम्बोधनमा स्पष्ट गरिसकेको छु ।’
यस्तै, उहाँले राजतन्त्र फर्कन्छ भन्ने कसैको सपना पूरा नहुने स्पष्ट गर्दै यही चैत १५ गतेको अराजक गतिविधिबाट राजतन्त्रपक्षधरको वास्तविकता देखिसकिएकाे उल्लेख गर्नुभयाे ।
राजतन्त्र कुनै हालतमा फर्कँदैन, एमाले र काँग्रेसजस्ता पुराना र ठुला पार्टीको सरकारले यो संविधान र व्यवस्थाको रक्षा गर्दै जनतालाई समृद्धि र सुशासन दिएर छाड्ने प्रधानमन्त्रीकाे भनाई थियाे ।

