रवि लामिछाने काठमाडाैं अदालतमा उपस्थित हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुनुहुने भएकाे छ । 

८४ दिन थुनामा रहेर कास्की जिल्ला अदालतले धराैटीमा छाड्न गरेकाे आदेश बमाेजिम रिहा भएपछि सहकारीसँगै सम्बन्धित अर्काे मुद्दाकाे थुनछेक बहसका लागि काठमाडाैं जिल्ला अदालतमा उपस्थित हुने रास्वपाले जनाएकाे छ ।

लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज आफैँ  अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयाे ।

बिहीबार अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो । अदालतको आदेशानुसार रू ६५ लाख धरौटी बुझाएपछि लामिछानेलाई कास्की प्रहरीले विहीबार साँझ रिहा गरेकाे हाे ।

लामिछानेसँगै उक्त मुद्दाका छ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका छन् । लामिछाने,  छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएका हुन् ।

न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई रू ६५ लाख, छविलाल जोशीलाई रू ८८ लाख, लीला पछाईँलाई रू ३७ लाख, मीना गुरूङलाई रू पाँच लाख, रामबहादुर खनाललाई रू १५ लाख, आरती गुरूङलाई रू पाँच लाख र कृष्णबहादुर गुरूङलाई रू एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

Facebook Comments