मधेश प्रदेशमा एमालेका सराेजकुमार यादव मुख्यमन्त्री नियुक्त
विश्वासकाे मत लिन नसेकपछि जितेन्द्र साेनल नेतृत्वकाे सरकार ढलेपछि मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका संसदीय दलका नेता सरोज कुमार यादव(महोत्तरी)लाई नियुक्त गर्नुभएकाे छ ।

कामचलाउ मुख्यमन्त्री जितेन्द्र सोनलसँग सोमबार बिहानै ४ बजे बिरामी छु भन्दै जनकपुरबाट काठमाडौंका लागि निस्केपनि भण्डारीकाे याेजना भने अर्कै थियाे । भण्डारीकाे मुख्य काम एमालेकाे नेतृत्वमा मधेश सरकार गठन । साेका लागि भण्डारीले बर्दिवासको पानस कटेज पुगेर संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेशको मुख्यमन्त्रीमा ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता सरोज कुमार यादव(महोत्तरी)लाई नियुक्त गर्नुभयाे ।
बिरामीको बहाना गर्दै जनकपुर छोड्नुभएकाी प्रदेश प्रमुख भण्डारीले संसदीय दलका नेता सरोज कुमार यादव(महोत्तरी)लाई मुख्यमन्त्री नियुक्त गरेसँगै सरकार समेत विस्तार गरी पदकाे सपथ समेत गराइएकाे छ ।
मुख्यमन्त्री नियुक्ति र पद तथा गाेपनियताकाे सपथ हाेटलमा नै सम्पन्न गरिएकाे छ । बर्दिवासको कालापानीस्थित होटल पानसमा सोमबार बिहान ५ बजेर २० मिनेटमा यादवलाई मुख्यमन्त्री पदको शपथसमेत गराइएको छ ।
होटलमै एमाले सांसद लखन दास तत्मा, नेपाल संघीय समाजवादी पार्टीकी सांसद बिमला अंसारी र राप्रपाकी सांसद कंचन बिच्छालाई विना विभागीय मन्त्रीको शपथ पनि गराइएको हाे ।
प्रदेश प्रमुख भण्डारीलाई कांग्रेससहित ७ दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलले सरकार बनाउन भन्दै आह्वान गर्न दबाब दिएका थिए ।
एमालेले पनि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठन हुनुपर्ने भन्दै जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालयमा नाराबाजी गरेको थियो ।
रातारात होटलमा बसेर मुख्यमन्त्रीमा एमालेका यादवलाई नियुक्त गरेपछि साेकाे विराेध भएकाे छ ।

