बालबालिकाको प्रतिभा पहिचान गरी प्रेरित गर्न जरुरीः प्रदेश प्रमुख भट्ट
दोस्रो बृहत् बालप्रतिभा पहिचान महोत्सव
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिकाको सर्वाङ्गिण विकासका लागि ख्याल गर्नुपर्ने बताउनुभएको छ । उहाँले सानै उमेरमा उनीहरुमा अन्तरनिहित प्रतिभाको पहिचान गरी प्रेरित गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।पोखरा, २४ मंसिर
नेशनल प्याब्सन, कास्कीको आयोजनामा पोखरामा सञ्चालित दोस्रो बृहत् बालप्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै प्रदेश प्रमुख भट्टले महोत्सवले बालबालिकाको सर्वाङ्गिण विकासमा योगदान दिने अपेक्षा गर्नुभयो ।
‘आजको समय सिर्जनात्मकता, नवीनता र समस्या समाधान क्षमताले भरिएको छ । बाल प्रतिभाहरूलाई सही वातावरण, उत्प्रेरणा र प्रोत्साहन दिएर हुर्काउन सकियो भने उनीहरूले समाजमा अभूतपूर्व योगदान दिन सक्छन् ।’ उहाँले भन्नुभयो – ‘यसका लागि परिवार, विद्यालय र राष्ट्र तीनै तहबाट समानरूपमा सहयोग आवश्यक छ । बालबालिकाको विचार सुन्ने, उनीहरूको जिज्ञासालाई सम्मान गर्ने, गल्तीलाई सिकाइको अवसरका रूपमा लिन मद्दत गर्ने संस्कृति विकास गर्न जरुरी छ ।’
बालबालिकालाई आत्मविश्वासी, सिर्जनशील, जिम्मेवार र सकारात्मक व्यक्तित्वका रूपमा ढाल्ने आधार यस्तै प्रकारका कार्यक्रम रहेको बताउँदै उहाँले प्रतिभा पहिचान र प्रशंसा भएपछि बच्चाको मनोबल बढ्ने र उनीहरूमा सिक्ने चाहना प्रबल हुनुका साथै आफ्नो क्षमताप्रति आफै गर्व महसुस गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘हामी सबैले बालबालिकाको रुचि, क्षमता र कल्पनाशक्तिलाई पहिचान गरी तिनलाई सही दिशामा अगाडि बढाउन प्रेरित गर्नुपर्छ ।’ बालबालिकाको प्रतिभालाई बुझ्ने, मूल्यांकन गर्ने र प्रोत्साहन दिने वातावरण बनाउन अब ढिलाई गर्न नहुने बताउँदै उहाँले विद्यालयहरु बालबालिकाको सिर्जनशीलताको सहजीकरणमा बढी सजग हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।
महोत्सव मंसिर २६ गते सम्म पोखरा प्रदर्शनी केन्द्रमा चल्ने छ । प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध ४३ वटा विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् । विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफि मेडल प्रदान गरिने छ ।
बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको छ ।
अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने अन्य प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता जनाउने छन्।

