एमाले महाधिवेशनः उम्मेदवार दर्ता र अन्तिम नामावली प्रकाशन गरिने
नेकपा एमालेको ११ औं महाधिवेशन काठमाडाैंमा जारी छ । महाधिवेशनकाे बन्दसत्र आइतबार ढिलाे गरी सुरू भएकाे छ ।
महाधिवेशनकाे कार्यक्रम अनुसार पार्टीको निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरेकाे छ । जसअनुसार आज उम्मेदवारी दर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।
बिहान ९ बजेदेखि १२ बजेसम्म उम्मेदवारको दरखास्त फाराम वितरण गर्ने र बिहान साढे १० बजेदेखि दिउँसो साढे १ बजेसम्म उम्मेदवारको दरखास्त फाराम दर्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित कार्यतालिका अनुसार दिउँसो साढे २ बजे उम्मेदवारको प्रारम्भिक नामवली प्रकाशन हुनेछ। सो नामावलीमा दाबी विरोध गर्न दिउँसो ३ बजेसम्मको समय राखिएको छ।
उजुरी उपर छानबिन र निर्णय दिउँसो ३:१० बजेसम्म हुनेछ। उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहे दिउँसो ३:१० बजेदेखि ५ बजेसम्मको समय दिइएको छ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन बेलुका ६ बजेसम्म गर्ने कार्यतालिका रहेको छ।

महाधिवेशन अन्तर्गत मतदान पुस १ गते ११ बजेदेखि ५ बजेसम्म गर्ने तय भएकाे छ । मतदानमा इलाेक्ट्राेनिक भाेटिङ मेसिन प्रयाेग गर्ने तयारी छ ।
जारी महाधिवेशनमा नेतृत्वका लागि केपी ओली र ईश्वर पोखरेलले समूह बनाएर प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।


