शिक्षक महासङ्घले आन्दोलन जारी राख्ने
नेपाल शिक्षक महासङ्घले जारी आन्दोलनलाई निरन्तरता दिने भएको छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन जारी रहने जानकारी दिएका हुन् ।
सुवेदीले हिजोसम्म भएका आन्दोलनमा सहभागी सबै साथीहरुलाई धन्यवाद दिंदै बैशाख ३ गते ठिक १२ः०० बजे माइतीघर मण्डलामा आन्दोलन जारी रहने उल्लेख गर्नुभएकाे छ ।
सुवेदीले सामाजिक सञ्जाल मार्फत् अपिल समेत गर्नुभएकाे छ ।
देशैभरका शिक्षकहरू “मेरो आन्दोलन, मेरो सहभागिता” भन्ने नारा सहित दुइ हप्तादेखि आन्दोलित छन् ।
आदरणीय साथीहरु,
१.अब हामी निर्णायक मोडमा आइपुगेका छौं । हामीले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिन्छ । त्यसैले अझ बढी प्रतिबध्दता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प छैन ।
२.देश भरिका सबै साथीहरु आन्दोलनको यो निर्णायक घडीमा हामी तपाईंलाई काठमाडौंको आन्दोलनको मोर्चामा पर्खिरहेका छौं । यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ । तुरुन्तै काठमाडौं आइपुग्नुहोला ।
३.अनधिकृत विचार, अफवाह, षडयन्त्र र भ्रामक समाचार प्रति सचेत रहनुहोला ।
“मेरो आन्दोलन, मेरो सहभागिता ।”
“बलियो उपस्थिति बलियो आन्दोलन, बलियो आन्दोलन बलियो उपलब्धि ।”

