एमाले महाधिवेशनः नेतृत्व चयन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन
नेकपा (एमाले)को ११ औं महाधिवेशनमा नेतृत्व चयनकाे प्रक्रिया शुरू भएकाे छ । नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका अन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको छ।
पार्टीको निर्वाचन आयोगले विभिन्न पदका लागि परेका उम्मेदवारहरूको सम्बन्धमा दाबी, विरोध, उजुरी र छानबिनपछि मंगलबार बिहान अन्तिम नामावली प्रकाशन गरेको हो ।
प्रकाशित नामावली अनुसार अध्यक्षमा दुई जना, उपाध्यक्षमा १० जना, महासचिवमा २ जना, उपमहासचिवमा ७ जना, सचिवमा २० जना उम्मेदवार छन्।
अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल उम्मेदवार छन् ।
ओली र पोखरेल दुवै पक्षले पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि प्यानलै बनाएर उम्मेदवारी दिएका छन् ।
ओलीकाे टिमबाट निर्वाचनमा भाग लिने अपेक्षा राखेकाहरूले चाहेकाे पद नपाएपछि स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् भने कतिपयले पाेखरेलकाे टिमबाट उम्मेदवारी दिएका छन् ।
५ जना उपाध्यक्षका लागि अरूण नेपाल, गुरूप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, डा. विन्दा पाण्डे र विष्णु पौडेल उम्मेदवार छन्।
महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे उम्मेदवार छन् ।
त्यस्तै ३ जना उपमहासचिवका लागि आनन्द प्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरी उम्मेदवार छन्।
९ जना सचिव पदका लागि अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगरादज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्माकुमारी अर्याल, पुरूषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत,. यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की छन्।
केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो ४ बजेदेखि सुरू हुने छ ।
महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदै छ । निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका १०० वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् ।

