एमालेको केन्द्रीय कमिटी बैठक जारी
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक तेस्रो दिन पनि जारी छ ।
विहानैबाट केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको जावलाखेलमा जारी बैठकमा नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा राखिरहेका छन् ।
बिहीबार दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले आफ्ना धारणा र सुझाव राखेका थिए । यसअघि पहिलो दिन बुधबार ५० जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।
बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेट समय दिइएको छ । बैठकमा केन्द्रीय सदस्यको धारणा सुनेपछि आज पदाधिकारीहरूले पनि आफ्ना धारणा राख्ने कार्यतालिका रहेको छ ।
पदाधिकारीले धारणा राखेपछि अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्ने तयारी छ ।
एमालेले मंसिरकाे अन्तिममा महाधिवेशन गर्ने प्रस्ताव बैठकमा पेश गरिएकाे छ ।
जेनजी प्रर्दशनपछि नेतृत्व परिवर्तनकाे दबाव रहेपनि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी या महाधिवेशनबाट निर्णय भएमात्र नेतृत्व छाड्ने बताउनुभएकाे छ ।

