नेकपा एमालेमा विधान संशाेधनकाे छलफल
नेकपा एमालेमा भदाैमा हुने विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रस्तावकाे बिषयमा छलफल शुरू भएकाे छ ।
सचिवालयकाे बैठकले विधान संशाेधनकाे प्रस्ताव पारित गरेपछि पोलिटब्युरो बैठकमा साे बिषयमा छलफल हुने भएकाे छ ।
आज दिउसो १ बजे बस्ने बैठकमा विधान संशोधन प्रस्तावमाथि छलफल हुने सचिव योगेश भट्टराईले जानकारी दिनुभयाे ।
यसअघि बिहीबार बसेको सचिवालय बैठकले विधानमा व्यवस्था गरेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेस भएको थियो ।
विधान संशोधन प्रस्तावमाथि भएको छलफलमा यो व्यवस्था हटाउने गरी छलफल भएको हो । त्यसैगरी १९ सदस्यीय केन्द्रीय पदाधिकारी पनि १५ जना हुने गरी विधान संशोधन गर्न सहमति जुटेकाे छ ।
उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा ११ सदस्यीय पदाधिकारी प्रस्ताव गरे पनि छलफलका क्रममा १५ सदस्यीय बनाउन सहमति जुटेको सचिव भट्टराईले जानकारी दिनुभयाे ।
१५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटी मान्ने निर्णय सर्वसम्मत भएको छ।
७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने बिषयमा भने नेताहरूकाे फरक मत रहेकाे थियाे । त्यस्तै वरिष्ठ उपाध्यक्ष हटाउने र पदाधिकारीको संख्या घटाउने प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्रप्रसाद पाण्डे लगायतका नेताहरूले फरक मत राखेका थिए ।

