माैसमः पाँच प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । आज दिउँसो पाँच प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना रहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार देशभर साधारणतया बदली रहने भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरेकाे छ ।

