बालाचतुर्दशीका अवसरमा शतविज छरियाे
आज मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी पशुपति क्षेत्र तथा लगायत देशका विभिन्न धार्मिक स्थलहरूमा शतवीज छरिएकाे छ ।
बालाचतुर्दशी को अघिल्लो दिन दिवगंत पितृका सम्झना एवं सम्मानमा बत्ती बालेर रातभर जाग्राम बस्ने र आज बिहानै शतबीज छर्ने धार्मिक प्रचलन छ ।
त्रयोदशीको बेलुकीदेखि दिवंगत पितृका नाममा अखण्ड महादीपदान गरी बस्ने र भोलिपल्ट चतुर्दशीको दिन धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो गरी सात प्रकारका अन्न मिसाइएको शतबीज छर्ने चलन परापूर्वकालदेखि प्रचलित छ ।

पशुपति क्षेत्रको एक सय आठ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।
शतबिज छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गर्ने चलन छ ।
अघिल्ला वर्षजस्तै यस वर्ष पनि मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट ठूलाे संख्यामा भक्तजन पशुपतिनाथ आएका छन् ।
चितवनकाे देवघाटधाममा समेत शतविज छरिएकाे छ ।

