रास्वपाका सभापति रवि लामिछाने रिहा हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रिहा हुँदै हुनुहुन्छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी आज रिहा हुने बताइएकाे छ ।

लामिछाने आफैँ रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएकाले विहीबार रिहा सम्भव भएकाे थिएन ।

उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई धराैटी लिएर थुनामक्त सर्तसहितकाे आदेश जारी गरेकाे थियाे ।

आदेश अनुसार लामिछानेले विदेश जानुपर्दा अदालतकाे अनुमति लिनुपर्ने, दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत प्रमाणीकरण र सनाखत गरिने, र बिगोको हकमा दायित्व सिर्जना भए तिर्न–बुझाउन मन्जुर हुनुपर्नेछ ।

अदालतका सर्त मानेर लामिछाने रिहा हुने तयारीमा लाग्नुभएकाे हाे ।

लामिछानेलाई हाल ललितपुरस्थित नख्खु कारागारमा थुनामा राखिएकाे छ । कारागार व्यवस्थापन विभागका अनुसार अदालतको आदेशअनुसार सम्पूर्ण प्रक्रिया पूरा भएपछि मात्र लामिछानेलाई थुनामुक्त गरिनेछ ।

Facebook Comments