प्रतिनिधिसभाकाे बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नाेत्तर
प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नाेत्तर हुने तय भएकाे छ । बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।
संसद सचिवालयले आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यसूची तय गरेकाे हाे।
प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको प्रबन्ध गरेकाे छ ।
यस्तै, विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत ६ वटा मन्त्रालयको समूहकृत रूपमा छलफल हुने कार्यसूची छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विनियोजनमाथि छलफल हुने सम्भावित कार्यसूची तय भएको जनाएको छ ।
‘भिजिट भिसा’ प्रकरणमा छानबिन आयोग र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले विराेध गरिरहेका छन् ।
ती दलकाे अवरोध कायम रहेपनि सभामुखले सदन सञ्चालन गर्दै आउनुभएकाे छ ।

