आर्मीले मार्च गरेजस्तो एकताबद्ध पार्टी बनाउनेछाैंः अध्यक्ष ओली
नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले एकताको भावनाका साथ अघि बढ्नुपर्ने र पार्टीलाई आर्मीले खेल्ने एकनाश परेडजस्तै बनाउने बताउनुभएकाे छ।
११ औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएपछि बसेकाे पहिलाे केन्द्रीय कमिटीकाे बैठकमा ओलीले महाधिवेशनपछि पार्टीमा सबै समूह सकिएकाे भन्दै एकताको भावनाका साथ पार्टीलाई नयाँ उचाइमा पुर्याउने बताउनुभयाे ।
विगतमा पार्टीभित्र केही समस्या देखिने गरेकामा आगामी दिनमा सबैले एक आवाजका साथ अगाडि बढ्नुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘विधान महाधिवेशनले पारित गरेका वैचारिक, संगठनात्मक, कार्यक्रमिक नीतिअनुसार हामी अगाडि बढ्नेछौं। र ती नीतिमा एक स्वर भएर परेडमा आर्मीले मार्च गरेजस्तो हाम्रा हात पनि बराबर हल्लिने, खुट्टा पनि बराबर चल्ने गरी ताल मिलाएर हामी अघि बढ्नेछौं।’
अध्यक्ष ओलीले टोलटोलमा सुरक्षा समिति बनाएर आम जनताको सुरक्षाको काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएकाे छ ।
यसअघि अध्यक्ष पदकाे सपथग्रहणमा ओलीले एमाले नेतृत्वमाथि कुनै कार्वाही गर्न खाेजे सरकार नै ढाल्ने देश ठप्प पार्नुपर्ने अभिव्यक्ति दिनुभएकाे थियाे ।

