संघीय संसदका दुवै सदनकाे बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनकाे बैठक आज बस्दै छन् ।

प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा, भने राष्ट्रियसभाको बैठक दिउँसो १२ः१५ बजे बस्ने भएको हो । 

प्रतिनिधिसभामा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पेस गरी पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा गृह, श्रम, युवा तथा खेलकुद र वन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ।

त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रस्तुत गर्नुहुनेछ भने कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ पेस गर्नुहुनेछ ।

आज नै ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने, र ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस हुने कार्यसूची छ ।

यसैगरी, आजै बस्ने राष्ट्रियसभाको बैठकमा गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम तय भएको छ ।

बैठकमा गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाबाट सन्देशसहित आएको ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ छलफल र पारित गर्ने सम्भावित कार्यसूची छ।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ माथि विचार गर्न प्रस्ताव पेस गर्नेहुनेछ ।

Facebook Comments