प्रगतिशील लोकतान्त्रिक पार्टी गठन हुँदै
बाबुराम भट्टराईकाे नेतृत्वमा गठन भएकाे र हाल दुर्गा साेवकाे नेतृत्वमा रहेकाे नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूह लगायतले आज पार्टी एकता गर्ने भएका छन् ।
तीन शक्ति मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरिने भएकाे छ । साे पार्टीकाे सर्वाेच्च अंगकाे रूपमा अध्यक्ष परिषद् गठन गर्ने भएको छ । त्यस्ताे परिषद्मा दलित, महिला, आदिवासी जनजाति, मधेशी, पिछडिएको क्षेत्र लगायत सबै क्लष्टरबाट प्रतिनिधित्व रहने बताइएकाे छ।
जनार्दन शर्मा र बाबुराम भट्टराई भने साे पार्टीकाे कार्यकारी निकायमा नबस्ने बताइएकाे छ । पार्टीकाे केन्द्रीय कमिटी भने १५१ सदस्यीय बनाउने तयारी छ ।

वृहत् एकता घोषणासभाको सम्पूर्ण तयारी पूरा भएको जनाइएकाे छ। राष्ट्रिय सभागृह काठमाडौँ हुने कार्यक्रममा तीन घटक बाहेक अन्य समूहलाई पनि एकतामा ल्याइने बताइएको छ ।

नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबिच कात्तिक २८ गते एकता सहमतिमा हस्ताक्षर भएको थियो । एकता सभा कार्यक्रममा नयाँ र वैकल्पिक पार्टीलाई मात्र निम्तो दिएको छ ।
नयाँ शक्तिले विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेनजीका विभिन्न समूहसँग एकताका लागि छलफल जारी राखेको छ ।

