नेकपा एसकाे केन्द्रीय समितिकाे बैठकः आन्दोलनका स्वरूप सचिवालयले तय गर्ने

नेकपा (एकीकृत समाजवादी)काे केन्द्रीय समितिकाे बैठक सम्पन्न भएकाे छ । बैठकले आन्दोलनका स्वरूप, विद्यार्थी सङ्गठन र विधान लगायतको विवादबारे निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको छ । 

फागुन ९ र १० गते बसेको सो पार्टीको दोस्रो पूर्ण बैठकले आन्दोलनका कार्ययोजना पारित गरे पनि स्वरूपबारे निर्णय गर्न सचिवालयलाई जिम्मेवारी दिएको हो । 

केन्द्रीय कमिटीका २९८ सदस्य उपस्थित बैठकमा राजनीतिक प्रतिवेदन, पार्टीको नियमावली, विनियमहरु, विभिन्न निर्देशिकाहरू, महाधिवेशनको सामान्य समीक्षा, पार्टीको तात्कालिक कार्य योजना र पार्टीका तात्कालिक सङ्गठनात्मक तथा विभिन्न राजनीतिक विषयमा छलफल भएको साे पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिनुभयाे ।  

बैठकले वर्तमान सरकार नालायक र दमनकारी बन्दै जाने र सडकले सही बाटो नभेटाएर अराजक र पपुलिष्ट बन्दै जाने वर्तमान राजनीतिक अवस्थामा जनताका आधारभूत मुद्दाहरूलाई उठाउँदै पार्टी जनतामाझ जाने निर्णय गरेको छ ।

सो पार्टीले राजनीतिलाई सही दिशामा डोर्‍याउने आन्दोलनको कार्य योजना बनाउनुपर्ने निष्कर्षमा पुगेकाे छ ।

त्यस्तै पार्टीको नियमावली, विनियमहरू, विभिन्न निर्देशिका र महाधिवेशनको सामान्य समीक्षा सुझावसहित पारित गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

Facebook Comments