निर्वाचनका लागि पहल बढाउँदै राष्ट्रपति
सरकार गठन भएकाे ३ महिनापछि राष्ट्रपतिकाे पहलमा प्रधानमन्त्री र विघटित संसदका प्रमुख तीन दलका शीर्ष नेताहरूवीच भेटवार्ता भएकाे छ ।

जेन–जी विद्रोहको बलमा बनेको सरकार प्रमुख सुशीला कार्की र विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा संयोजक पुष्पकमल दाहालबीच शीतल निवासमा भेटवार्ता भएको हो ।
भेटमा राजनीतिक दलका नेताहरूले निर्वाचनको वातावरण बनाउने मुख्य जिम्मेवारी सरकारको भएको जनाउँदै शान्तिसुरक्षाबारे विस्वस्त हुने वातावरण नरहेकाे भन्दै प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए ।
एमाले अध्यक्ष ओलीले शान्तिसुरक्षा कायम गर्न नसकेको, दलहरूलाई निषेध गर्न खोजेको, आफू र पूर्वगृहमन्त्री रमेश लेखकलाई स्थानहद गरेको उल्लेख गर्दै यस्ताे अवस्थामा निर्वाचनकाे वातावरणा नबन्ने बताउनुभयाे । निर्वाचन हुने अवस्थामा भने एमालेले भाग लिने उहाँकाे भनाई थियाे ।
त्यस्तै कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि शान्ति सुरक्षाका साथै निर्वाचनकाे वातावरण बनाउन दलहरूलाई विश्वासमा लिनुपर्ने बताउनुभएकाे थियाे । नेता, उम्मेदवार र मतदाता सबैले सुरक्षाकाे प्रत्याभुति गर्नुपर्ने देउवाको भनाइ थियो ।
नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि सरकारले शान्तिसुरक्षाको भरपर्दो व्यवस्था गर्नुपर्ने र सबै प्रमुख राजनीतिक दलहरूलाई विश्वासमा लिनुपर्नेमा जोड दिनुभयाे । उहाँले भन्नुभयाे, ‘प्रमुख दलहरू निर्वाचनमा सहभागी नभए प्रतिगमनकारी शक्तिले मुलुकमा थप संकट निम्त्याउँछ । सरकारले निर्वाचनको वातावरण बनाओस्, हामी दलहरू चुनावमा जान तयार छौं ।’
छलफलमा घाेषित निर्वाचनलाई सफल बनाउनेबारेमा छलफल भएकाे राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल जानकारी दिनुभयाे । उहाँका अनुसार निर्वाचनको वातावरण बनाउन सरकार र प्रमुख दलबीच समझदारी भएको छ । बालुवाटारमा निर्वाचन केन्द्रित छलफल गर्ने समझदारी भएकाे र राष्ट्रपतिले पनि निर्वाचनका लागि सहयाेग गर्न दलहरूलाई अनुराेध गर्नुभएकाे थियाे ।
सरकारले भने घाेषित मितिमै निर्वाचन हुने बताएकाे छ ।

