प्रतिनिधिसभाको पुनर्स्थापनाका लागि कांग्रेस सांसदकाे रिटमा बुधबार पेसी
प्रतिनिधिसभाको पुनर्स्थापना लागि कांग्रेस र एमाले सांसदहरूले सर्वाेच्च अदालतमा रिट पेश गरेका छन् ।
कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ सांसदले गरेको हस्ताक्षरसहितको पूरक रिटमा आज बुधबार पेसी तोकिएको छ ।
हस्ताक्षरसहितको पूरक रिट मङ्गलवार सर्वोच्च अदालतमा वारेसमार्फत दर्ता गरिएको थियो । सांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई हस्ताक्षरसहितको वारेस दिनुभएकाे थियाे ।
कांग्रेसका ८ सांसदले मङ्सिर २३ गते रिट दर्ता गरेका थिए । त्यसमा थप ६० सांसद हस्ताक्षर दर्ता गरिएको खातीले जानकराी दिनुभयाे ।
प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसबाहेक अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका छन् ।
एमालेका ७५ सांसदहरूले यसअघि नै प्रतिनिधिसभा पुनर्स्थापना माग्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका छन् ।
अहिलेको हस्ताक्षर बुझाइएपछि पुनर्स्थापनाको काम गर्ने बहुमत सांसद पुग्छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसदको आवश्यक पर्छ । अहिले हस्ताक्षर बुझाउने २ दलका सांसदको सङ्ख्या जोड्दा १४३ हुन्छ ।
एमालेले संसदीय दलको बैठकबाट निर्णय गरेर पार्टीका ७५ सांसदको हस्ताक्षरसहित संस्थागत रूपमा सर्वोच्चमा रिट दायर गरेको थियो ।
कांग्रेसले भने सुरूमा निर्वाचनमा भाग लिने निर्णय गरेकाे थियाे । पछि एमालेसँग संवाद गरेर पुर्नस्थापनाका लागि समेत रिट दिएकाे बुझिएकाे छ । पुर्नस्थापनाका सम्बन्धमा कांग्रेसमा एकमत भने छैन ।

