किसानका कुरा सुन्न मधेस जाँदैछुः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मधेसमा किसानका कुरा सुन्न जानुहुने भएकाे छ । प्रधानमन्त्रीले सामाजिक सञ्जालमा यसअघि व्यस्त भएकाे र शुक्रबार सुख्खाले गर्दा धान राेपाइँ हुन नसकेका क्षेत्र आज बारा र महोत्तरी जान लागेको उल्लेख गर्नुभएकाे छ ।
सामाजिक सञ्जालमा प्रधानमन्त्रीले ‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ। हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ। आज महोत्तरी र बारा जाँदै छु। तराई–मधेसमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन। त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौं भन्ने लागेको छ। आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ,’ भनेर लेख्नुभएकाे छ।
यस वर्ष वर्षा धेरै हुने बताइएपनि देशव्यापी मनसुनी वायुको प्रभाव कमजोर हुँदा पर्याप्त वर्षा भएको छैन। पहाडी क्षेत्रका कतिपय स्थान तथा तराइ मधेसमा त वर्षा नहुँदा साउनकाे पहिलाे साता वित्दा समेत राेपाइँ हुन सकेकाे छैन । सरकारले मधेसलाई विपद संकटग्रस्त क्षेत्र पनि घोषणा गरेको छ।

