माैसमः गण्डकी, कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हिमपात
हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । गण्डकी प्रदेशकाे अन्नपुर्ण हिमश्रृंखला तथा मनाङ र मुस्ताङमा हिमपात भएकाे छ भने गाेरखा लमजुङ, कास्की लगायतका जिल्लाहरूमा हल्का वर्षा भएकाे छ ।
महाशाखाले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपात/वर्षा तथा बाँकी तराईका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएकाे छ ।
त्यस्तै बागमती प्रदेश ,गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपात/वर्षाको पनि सम्भावना रहेको छ ।
आज राती कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहने महाशाखाले उल्लेख गरेकाे छ ।
त्यस्तै गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपात/वर्षाको पनि सम्भावना रहेको छ ।


