माओवादी धारासहितका बामपन्थीहरूलाई एकताबद्ध हुन प्रचण्डकाे अपिल अपिल

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश जटिल अवस्थामा रहेको भन्दै माओवादी धारासहितका बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन अपिल गर्नुभएकाे छ ।

मुलुककाे वर्तमान संकटलाई टार्न देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरुबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको उहाँकाे ठहर छ ।

प्रचण्डले मंगलबार सामाजिक सञ्जालमा सन्देश जारी गर्दै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गर्नुभएकाे हाे ।  

प्रचण्डले जारी गर्नुभएकाे सन्देशकाे पूर्ण पाठ

यतिखेर देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रा सामु छ। राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ।

यस सन्दर्भमा देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरुबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ।

राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादी सहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता हो।

यस सत्यलाई आत्मसात् गर्दै, म देशका सबै माओवादी धारासहितका बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु। साथै, संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधिनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गर्दछु।

धन्यवाद

Facebook Comments