नेपाली कांग्रेसमा महाधिवेशनबारेकाे विवाद कायमै

नेपाली कांग्रेसभित्र फागुन २१ गते घाेषणा भएकाे निर्वाचन अगावै महाधिवेशन गर्ने या नगर्ने, महाधिवेशन प्रतिनिधिहरूले माग गरे अनुसार विशेष महाधिवेशन के गर्ने भन्नेबारेमा विवाद कायमै रहेकाे छ ।

पार्टीका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन तिथिमितिबारे सहमति जुटाउन अग्रसरता लिनुभएपनि निष्कर्ष निस्किएकाे छैन ।

सभापति देउवाले बिहीबार निवासमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित आफूनिकट केही पदाधिकारी, केही पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यहरूसँग छलफल गर्नुभएकाे थियाे ।

पार्टीका शीर्ष नेताहरू तथा पदाधिकारीहरूसँगकाे छलफलमा सहमति नजुटेपछि शुक्रबार बस्ने भनिएकाे बैठक पुन आइतबारसम्मका लागि सारिएकाे छ ।

विहीबार नै सभापति देउवाले कार्यवाहक सभापति खड्कासहित दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गर्नुभएकाे थियाे ।

सभापति देउवा पक्षका अधिकांश पदाधिकारी र पूर्वपदाधिकारी लगायत फागुन २१ को चुनावपछि मात्रै पार्टीको १५ औं महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । त्यस्तै महामन्त्री थापा र शर्मा, नेता शेखर कोइराला पुसभित्रै १५ औं महाधिवेशन गर्नुपर्नेमा छन् । नियमित महाधिवेशन गर्न नसक्ने हो भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार पुसभित्रै विशेष महाधिवेशन गर्नुपर्नेमा महामन्त्रीद्वय थापा र शर्माकाे धारणा छ ।

Facebook Comments