पाेखरामा अंग्रेजी नयाँ वर्षकाे राैनक, सडक महाेत्सव सुरू

पाेखरामा अंग्रेजी नयाँ वर्षकाे पूर्वसन्ध्यामा लेकसाइड क्षेत्र सिंगारिएकाे छ भने लेकसाइड क्षेत्रकाे सजावटले महाेत्सवमय बनेकाे छ । रंगीचंगी झन्डा, परम्परागत झाँकी, संगीतको धुन र खानाका विभिन्न परिकारले साे क्षेत्रकाे सडक उत्सवमय बनेकाे छ ।

हरेक वर्ष लेकसाइड क्षेत्रमा आयाेजना हुने पाेखरा सडक महोत्सवले अंग्रेजी नयाँ वर्ष उल्लासमय हुने गर्छ ।

हरेक वर्ष अंग्रेजी नयाँ वर्ष जस्तै यस वर्ष पनि २७औँ सडक महोत्सव आइतबारबाट सुरु भएकाे छ । आइतबार (पुस १३)देखि सुरु भएको यो महोत्सव पाँच दिनसम्म चल्नेछ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले हरेक वर्ष याे महाेत्सव आयोजना गर्दछ ।

PSF

महोत्सवको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले महाेत्सवले पर्यटन व्यवसायका लागि याेगदान दिने बताउनुभयाे । सडक महोत्सवले बाह्य एवं आन्तरिक पर्यटकले फरक महसुस गर्ने विश्वास व्यक्त गर्नुभयाे ।

हरेक वर्ष हुने सडक महाेत्सव देश विदेशमा ब्रान्ड नै बनेकाे छ भने लाखाैंले सडक महाेत्सवकाे आनन्द लिनेछन् ।

‘सडकमै खाउँ, सडकमै नाचौँ, सडकमै रमाऊँ’ भन्ने नाराका साथ सञ्चालन हुने महोत्सवबाट पोखराको पर्यटन प्रवर्द्धन, स्थानीय स्तरमा उत्पादित सामग्रीको बजार विस्तार, लेकसाइडको ब्राण्डिङ तथा आर्थिक गतिविधि बढाउने उद्देश्य राखिएकाे छ ।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार कला, संस्कृति र खानाका माध्यमबाट पोखराको पहिचान मजबुत बनाउन महोत्सव प्रभावकारी माध्यमका रूपमा स्थापित भइसकेको छ ।

महोत्सवमा विभिन्न जातजातिका लोपोन्मुख भेषभूषा तथा सांस्कृतिक झाँकी प्रदर्शन, मौलिक सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, लाइभ कन्सर्ट, डुंगा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने प्रतियोगितालगायत विविध कार्यक्रम समावेश गरिएकाे छ ।

महोत्सव अवधिभर पर्यटनको विकास, अवसर र चुनौतिबारे अन्तर्क्रिया कार्यक्रम पनि सञ्चालन गरिनेछ ।

Facebook Comments