टेरामक्स खरिद भ्रष्टाचारः पूर्वमन्त्री बस्नेतसँग २५ लाख धरौटी माग 

नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रियामा भएकाे भ्रष्टाचार सम्बन्धि मुद्दामा विशेष अदालतले पूर्वमन्त्री माेहन बहादुर बस्नेतसँग २५ लाख धराैटी माग गरेकाे छ ।

साे प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसहित १६ जनाविरुद्ध दायर मुद्दामा करिब तीन अर्ब २२ करोड बराबर भ्रष्टाचार भएकाे जिकीर गरिएकाे छ ।

अदालतले ताेकेकाे धराैटी रकम बुझाएर पूर्वमन्त्री मोहन बस्नेत धराैटीमा रिहा हुनुभएकाे छ । आइतबार विशेष अदालतमा उपस्थित भएका उनलाई अदालतले धरौटी माग गरेको हो। न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयानपछि थुनछेक आदेश भएको हो। 

भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पदबाट निलम्बनमा परेका बस्नेतसँग तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो कायम गरिएको छ। उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर भएको थियो।

अदालतले धराैटी ताेक्दा तत्कालीन सञ्चार तथा सूचनामन्त्री बस्नेतले २३ भदौ २०७४ मा नेपाल दूरसञ्चार प्राधिकरणको कार्यक्रम स्विकृती गर्ने निर्णय गर्दा ‘इन्टरनेसल कल मोनिटरिङ र भ्वाइस ओभर इन्टरनेट प्रोटोकल नियन्त्रणका लागि उपयुक्त उपकरण र प्रणाली सञ्चालन गर्ने’ भन्ने बेहोरा बस्नेतले थपेकाे बिषयलाई आदेशमा उल्लेख गरेकाे छ ।

Facebook Comments