मौसम : तराईका धेरै स्थानमा हुस्सु, बाँकी भूभागमा मौसम सफा रहने

काठमाडौं ।  हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

त्यसैगरी आज राति कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

विभागले बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यसैवीच काठमाडाैंमा भने चिसाे केही बढेकाे छ । काठमाडौंको न्यूनतम तापक्रम बिहीबारको तुलनामा शुक्रबार केही घटेको छ। 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको छ। बिहीबार न्यूनतम तापक्रम ८ डिग्री सेल्सिय मापन भएको थियो। शुक्रबार ८.३० बजे सम्म ८ डिग्री सेल्सीयस तापक्रम छ ।

Facebook Comments